कक्षा कोठाभित्र पढिरहेका बिद्यार्थीमाथि खुकुरी प्रहार

फागुन १,धादिङ – धादिङको तिप्लिङ गाविसमा कक्षा कोठाभित्र पढिरहेका बिद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । अति विकटमा रहेको तिप्लिङ गाविस ३ को दोङ्देन माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थी १५ वर्षिय अशोक भनिने एलेरोङ तामाङलाई हिजो दिउँसो हतियार सहित कक्षाकोठा भित्र प्रवेश गरेको समूहले खुकुरी हानी घाईते बनाएको हो ।

तिप्लिङकै वडा नम्बर ५ का सुलेमान तामाङ सहित ५÷६ जनाको समूहमा गएका युवाले कक्षाकोठा भित्र प्रवेश गरी कुटपिट गर्दै धारिलो हतियारले हानी तामाङलाई घाईते वनाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते तामाङलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डू ल्याईएको छ ।

दुई समुहमा रहेका बिद्यार्थीबीच पहिलेदेखि नै रहेको मनमुटावका कारण तामाङलाई खुकुरी हानेको हुन सक्ने स्थानीयबासिन्दाले बताएका छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।