दाहाल द्धारा प्रधानमन्त्री र अध्यक्ष ओलीसंग टेलिफोन वार्ता

माघ २९, काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले समयसिमा नतोकि वार्तामा बस्ने वातावरण बनाउन सत्तारुढ दलका शिर्ष नेतृत्वसंग आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आज विहान प्रधानमन्त्री एवम् कंगे्रस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरी सहमतिका लागि वातावरण बनाउन आग्रह गर्नुभएको हो । संवादहिनताको अवस्था अन्त्य गर्दै सहमतिका लागि पहल गर्न दवाव दिने उदेश्यले विहान लाजिम्पाट पुगेका नागरिक समाजका आगुवाहरुको आग्रह अनुसार अध्यक्ष दाहालले उहाँहरुकै अघि प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीलाई टेलिफोन गर्नुभएको हो ।

टेलिफोन कुराकानीमा अध्यक्ष दाहालले दुवै नेतालाई आफूहरु सहमति र संवादबाटै अघि बढ्न तयार रहेको भन्दै समयसिमा नतोकी वार्तामा बस्ने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो । दलहरुबीच संवादको वातावरण बनाउन सभाध्यक्ष सुवास नेम्वाङगले संविधानसभाको बैठक १० दिनसम्म स्थगित गर्ने तयरी गर्नुभएको छ । समयसिमा तोकिदा सहमति नभए पुन ः प्रक्रिया अघि बढ्छ भन्ने आशंका कायमै रहने भन्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाका सहयात्री दलले सहमतिमै संविधान बनाउने प्रतिबद्धतासहित समयसिमा नराखी वार्ता शुरु गर्नुपर्ने बताउनुभएको उहाका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री कोइरालाले आफू सकारात्मक रहेको बाताउनुभएको थियो । एमाले अध्यक्ष ओलीले सहमतिकै लागि लागि १० दिनसम्म संविधानसभाको बैठक स्थगित गर्न लागिएको भन्दै आन्दोलनका कार्यक्रम छोडी वार्तामा आउन आग्रह गर्नुभएको खकुरेलले बताउनुभयो ।

अध्यक्ष दाहाललाई भेट्न सुन्दरमणी दिक्षीत, चरण प्रसाई, सुवोध प्याकुरेल लगायतका नागरिक अगुवा लाजिम्पाट पुग्नु भएको थियो । भेटपछि नागरिक अगुवाहरुले दलहरुबीचको संवादहिनताको अवस्था चाडै अन्त्य भई सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् ।