जिरी खोला जलविद्युत् आयोजनाको उत्पादन सुरु

माघ २८, चरिकोट- दोलखाको जिरी नगरपालिका–४ मा निर्माण सम्पन्न जिरीखोला सानाजलविद्युत् आयोजनाले आफ्नो उत्पादन सुरु गरेको छ । करिब रु ६० करोड लगानी रहेको यस आयोजनाको बोजिनी कम्पनी प्रालि काठमाडाँै प्रवद्र्धक रहेको छ । ज्योति विकास बैंकको ७० प्रतिशत र व्यापारी उर्गेन शेर्पा, पुष्कर देवान, यज्ञप्रसाद सुवेदी, एसियन इन्जिनियरिङ कम्पनीलगायत अन्य व्यक्तित्वको ३० प्रतिशत सेयर रहेको यो आयोजना जिरीखोला र खिम्तीखोलाको दोभानमा निर्माण गरिएको छ ।

यो आयोजनाको उत्पादन क्षमता २।४ मेगावाट रहेको छ । करिब पाँच महिना अगाडि नै परीक्षण उत्पादन गर्ने भनिए तापनि मौसमका कारण वर्षासँगै पहिरोले एङ्कर ब्ल्क नं ३० बगाएपछि उत्पादनमा ढिलाइ भएको थियो ।

यस आयोजनाले विद्युत् उत्पादन गरेपछि केन्द्रीय प्रशारण लाइन जिरी सवस्टेसनमा जोडिएको छ । अहिले ८०० किलोवाट मात्रै विद्युत् उत्पादन गरिरहेको आयोजनाका प्लान्ट मेनेजर हरिशरण अधिकारीले जानकारी दिनुभयो ।

विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिए पनि सवस्टेसनमा खराबीका कारण आपूर्तिमा समस्या देखिएको विद्युत् प्राधिकरण जिरी शाखाले जनाएको छ ।

सब स्टेसनमा रहेका केही उपकरण मर्मत नभए केन्द्रीय प्रसारण लाइनमा गुणस्तरीय सेवा दिन नसकिने आयोजनाले जानकारी दिएको छ । यही माघ २० गतेदेखि परीक्षण उत्पादन गरेको आयोजनाले नियमित विद्युत् उत्पादन गरिरहेको छ ।