भोकमरीले बिरामी पर्दै चेपाङ, ८४ बालबालिका सिकिस्त

माघ २७ ,धादिङ – भोकमरीका कारण चेपाङ समस्यामा परेका छन् । धादिङको चेपाङ गाउँमा भोकमरीका कारणले आमा र बच्चा कुपोषणबाट ग्रस्त भई बिरामी पर्न थालेका हुन् । सडकको नछोएको महादेवस्थान गाविसको वडा नं २ की १८ वर्षकी सुदीपा चेपाङलाई गर्भवती अवस्थामा खानेकुरा नपाएर सिकिस्त बिरामी भएपछि सोमबार स्थानीय महादेवस्थान स्वास्थ्य चौकीमा उपचार गराइएको स्थानीय सामाजिक कार्यकर्ता तुलसीजङ्ग थापाले जानकारी दिए ।

आफ्नो एक वर्षको शिशुसमेत कुपोषित भएको सुदीपाको गर्भमा छ महिनाको बच्चा आइसक्यो तर उनको घरमा खानेकुरा नभएकाले केहीदिनदेखि बिरामी परेर घरमै बस्दै आएकीमा आज स्थानीयवासीको सहयोगमा उनलाई स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो ।
अत्यन्तै थोरै पाखो बारी भएकाले उनको परिवारलाई मुस्किलले तीन महिनालाई खान पुग्छ । बााकी समय खान नपुग्ने भएकाले उनको परिवारमा हरेक वर्ष भोकमरी लाग्ने गर्छ । एघारमहिने शिशुलाई पनि स्थानीय पोषण केन्द्रमा लानुपर्नेमा आमासमेत बिरामी परेर हिाड्न नसक्ने भएपछि चेपाङ परिवार बिचल्लीमा पर्दै आएको थियो ।

यो समस्या सुदीपाको मात्र होइन । महादेवस्थानको चेपाङबस्तीमा हरेक वर्ष भोकमरी र यसको असरबाट बालबालिकामा हुने कुपोषण नियमित जस्तै छ । चार सय ६५ घरधुरी चेपाङ समुदायको रहेको महादेवस्थानमा ८४ बालबालिका कुपोषणको सिकिस्त सिकार भएका छन् भने अन्य एक सय ५२ मा पनि कुपोषण भएको तथ्य प्रयास नेपाल नामक गैरसरकारी संस्थाले सङ्कलन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।