यस्तो रह्यो प्रधानमन्त्री कोइरालाको एक वर्षे कार्यकाल

माघ २७, काठमाडौं- कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री भएको मंगलबार एक वर्ष पुगेको छ । एमालेसँग एक वर्षमा संविधान जारी गर्नेसहित सात बुँदे सहमति गरेर उनी प्रधानमन्त्री भएका थिए । एक वर्षमा कोइराला सरकार संविधान मात्र होइन,सुशासन दिन पनि असफल भएको छ ।

यो एक वर्षमा प्रधानमन्त्री कोइरालाले सार्कको सफल आयोजना गरे । यसका साथै भारतसँगको विद्युत् व्यापार सम्झौताका साथै माथिल्लो कर्णाली र अरुण तेस्रोमा आयोजना विकास सम्झौता गर्न कोइराला सफल भए । यी बाहेक कोइरालाले प्रधानमन्त्री भएको यो एक वर्षमा खासै उल्लेखनीय काम गरेका छैनन् ।
माघ ८ मा संविधान बनाउने बाचा गरेर सरकारको नेतृत्व गरेका कोइरालाले निर्धारित समयमा संविधान दिन नसक्नु उनको सबैभन्दा ठूलो असफलता हो । अन्तिम समयसम्म पनि संविधान आउने भनेर उनले यो अवधिमा आफूलाई थप कमजोर बनाए । माघ ८ पछि विवाद बढ्दै दलहरु वार्ता र संवादमा समेत बस्न नसक्नु सुशीलको अर्को असफलता हो ।
प्रधानमन्त्री हुने वित्तिकै सुशासन दिने बाचा गरेका कोइरालाको सुशासन जनताले यो एक वर्षमा प्रत्याभूति गर्न पाएनन् । बरु जनताले यो एक वर्षमा ग्यास,तेल लगायतमा सामानहरुको चर्को अभाव झेल्नुपर्यो भने मूल्यबृछि पनि ह्वात्तै बढ्यो ।
प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षमा उल्लेख्य केही गर्न नसके पनि उनको उति धेरै आलोचना भने छैन । कुनै काम गरेनन् भनेर भन्दा पनि कुनै काम बिगारेनन् भनेर मिडिया र नागरिक समाजले उनीमाथि टिप्पणी गर्छ । उनीप्रति धेरै आसा थिएन,त्यसैले आलोचना पनि भएको छैन