नेपालको जलविद्युत्‌मा विश्वबैंकको चासो

माघ २६,काठमाडौँ-बहुपक्षीय विकास साझेदार विश्व बैंकले नेपालको जलविद्युत् र प्रसारण लाइन क्षेत्रमा भएका ढिलाइ, प्रगति र वर्तमान अवस्थाबारे चासो राखेको छ।

भारतसित ऊर्जा व्यापार सम्झौता भइसकेपछि नेपालको जलविद्युत्मा लगानी, प्रसारण लाइनको अवस्था र विद्युत् बजारको स्थितिबारे विश्वबैंकले ऊर्जासचिवलाई बोलाएर छलफल गरेको हो।
विश्व बैंकका दक्षिण एसिया हेर्ने प्रमुख निर्देशकहरू, निजी क्षेत्रलाई सहयोग गर्दै आएको विश्व बैंककै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी (मिगा) का पदाधिकारीसँग ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले अघिल्लो साता विश्वबैंक मुख्यालय अमेरिकाको वासिंटन डीसीमा छलफल गरेका थिए।
‘भारतसित पीटीएपछि नेपालको जलविद्युत् क्षेत्रमा विश्व बैंकको चासो बढेको छ’, क्षेत्रीले आइतबार अन्नपूर्णसित भने, ‘पीटीए हुनुलाई बैंकले सकारात्मक रूपमा लिएको रहेछ।’
क्षेत्रीले विश्व बैंकका नीतिगत तहमा रहेका पदाधिकारीलाई नेपालमा जलविद्युत् विकासको अवस्था, चुनौती, आवश्यकता, सम्बोधन गर्नुपर्ने विषय र रणनीतिक हिसाबमा नेपालले चाहेका विषयबारे जानकारी दिएका थिए।