गाडी भाडा घटाउने भन्दै फेरि उपभोक्ता झुक्याइँदै

माघ २६, काठमाडौं-पेट्रोलियम पदार्थको मूल्यसँगै सार्वजनिक सवारीको भाडा पनि घट्ने अपेक्षा गरेकिा उपभोक्ता फेरि निराश बन्नु परेको छ ।सरकारले सार्वजनिक यातायातको भाडा जम्मा साढे दुई प्रतिशतले मात्रै घटाउने तयारी गरेको छ । पेट्रोलियम मूल्य निरन्तर घटिरहँदा चौतर्फी दबाबमा रहेको सरकारले अन्ततः उपभोक्ताको आँखामा छारो हाल्ने खालकै निर्णय गर्न लागेको हो ।

उपभोक्ता अधिकारकर्मीका अनुसार अहिले इन्धनको मूल्य अनुसार सार्वजनिक सवारीको भाडा न्यूनतम ८ देखि १० प्रतिशत घट्नुपर्ने थियो । तर, सरकारले आफैले आफैले यसअघि प्रयोग गर्दै आएको वैज्ञानिक भाडादरबाट समेत पछि हटेर एकतर्फी निर्णय गर्न लागेको छ ।

सरकारले वैज्ञानिक भाडादरको अपब्याख्या गरिरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । हरेक वर्ष एकपटक मात्रै निर्धारण हुने मुद्रास्फीति, श्रमको मूल्य लगायतका भारलाई प्रत्येक समायोजनमा अपब्याख्या गरिरहेको उनको आरोप छ ।

वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम मूल्यको भार ३५ र अन्यको ६५ प्रतिशत हुन्छ । तर, यातायात ब्यवसायीको पहुँच मन्त्रीदेखि सरकारका उच्च अधिकारीसम्म रहेका कारण यो यो मापदण्ड लत्याइँदै आएको छ ।

इन्धनको मूल्य बढेर घट्ना थाल्दा सरकारले सार्वजनिक सवारीको भाडा ६ प्रतिशतसम्म बढाउने तयारी गरे पनि भाडा घटाउने बेला २ प्रतिशत मात्र घटाउनु खोज्नु दुःखद भएको महर्जनले बताए । यसअघि सरकारले पुसको पहिलो साता सार्वजनिक सवारीको भाडा एक प्रतिशत घटाएको थियो ।