प्रश्नावलीलाई अन्तिम रुप दिन प्रस्तावित समितिको बैठक बस्दै

माघ २६,काठमाडौँ-प्रश्नावली निर्माणमा जुटेको प्रश्नावली प्रस्ताव निर्माण समितिले आज प्रश्नावलीलाई अन्तिम रुप दिने भएको छ । बिहान ११ बजेपछि बोलाइएको बैठकमा प्रश्न बनाउन गठित उपसमितिले तयार गरेर दिएको प्रश्नावली बारे थप छलफल गरेर अन्तिम रुप दिन लागेको समितिले जनाएको छ । अग्नि खरेल संयोजक रहेको उपसमितिले हिजो बुझाएको प्रश्नावली प्रतिवेदनमा दुईसय ६५ वटा प्रश्नहरु निर्माण गरिएको छ, जसामा एकसय ९४ वटा मुल प्रश्न र ७१ वटा उपप्रश्न राखिएको छ ।

उपसमितिले संघीयता, शासकीय स्वरुप,निर्वाचन र न्याय प्रणालीका विषयमा प्रश्नावली बनाएको छ । संविधानका मुख्य विवादित विषयमा बनाइएको प्रश्नावलीसहितको प्रतिवेदन प्रश्नावली प्रस्ताव समितिले यही २९ गते बस्ने संविधानसभाको बैठकमा पेश गरिनेछ । दलहरुबीच सहमति हुन नसकेको मुख्य ४ विषयमा प्रश्नावली बनाएर संविधान निर्माणको काम अघि बढाउने भन्दै सत्तारुढ कांगे्रस–एमालेलगायतका दल लागे पनि एकीकृत माओवादीसहितका दलहरुले भने प्रक्रियाको विरोध गर्दै आएका छन् ।