एमाअाेवादी माेर्चालाई वार्तामा अाउन प्रधानमन्त्रीको आग्रह

 

माघ २५,काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट जनाउदै आन्दोलनरत एकीकृत नेकपा माओवादी, मधेसी मोर्चा लगायतका दलहरुलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।
विपक्षी मोर्चालाई वार्तामार्फत सहमति कायम गराउन जिम्मेवारी पाउनु भएका प्रधानमन्त्री कोइरालाले आज एक वक्तव्य जारी गर्दै वार्ता आह्वान गर्नुभएको हो । नयाँ संविधान जारी गरी जति सक्दो छिटो देशलाई निकास र जनतालाई विकास दिनु पर्ने अवस्थामा कतिपय दलहरु आन्दोलनको कुरा गरिरहेको उल्लेख गर्दै उहाँले तत्काल वार्तामा आउन आग्रह गर्नुभएको हो ।
आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता शुरु गरौं , विज्ञप्तिमा भनिएको छ ।
गत माघ ५ गतेदेखि सहमति नजिक पुगिसकेका विषयलाई अघि बढाऔं र छिटोभन्दा छिटो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकलाई राजनीतिक स्थायित्व र प्रगतिको दिशातर्फ लैजान अग्रसर बनौं, विज्ञप्तिमा भनिएको छ।