किनारा संरक्षणको चुनौतीमा नारायणी नदी

माघ २४, चितवन । चितवनमा नारायणी नदी किनार संरक्षणको जिम्मा कसले लिने भन्ने विवाद यथावत रहँदा यसको संरक्षणमा नै चुनौती देखापरेको छ ।सार्वजनिक जग्गा भए पनि नदी किनार संरक्षणको लागि निजी क्षेत्रबाट उद्योग वाणिज्य संघ चितवनले हाल अग्रसरता लिइरहेको छ । तर, हालका भरतपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले नदी किनारमा के गर्ने, कस्तो बनाउने भन्ने आफूहरुको सरोकारको विषय भएको बताएका छन् ।
संरक्षणका लागि उवासंघले लाखौँ रुपैयाँ लगानी गरिरहेको छ । हालै महोत्सव सम्पन्न भएपछि केही दिनअघि उवासंघले नदी किनारमा माटो पुर्ने, युरिया मल छर्ने र दूबो रोपेर सुन्दर पार्क बनाउने अभियानमा जुटेको छ । महोत्सव सुरू हुनुअघि पनि चार लाख रुपैयाँको लगानीमा किनार मर्मतको काम गरिएको थियो ।
तर उद्योग वाणिज्य संघको लगानीको बेवास्ता गर्दै भरतपुर उपमहानगरपालिकाले नदी किनारमा कन्सर्ट गर्न स्वीकृति दिएको छ । उवासंघले संरक्षणमा ध्यान दिने तर सरकारी निकायले नै फेरि संरक्षण अभियानविपरीत कार्यक्रम स्वीकृत गर्दा नदी किनार अस्तव्यस्त हुने देखिएको छ ।
व्यापक सरसफाइ र दूबो रोपिएपछि विस्तारै हराभरा देखिँदै गएको नदी किनार क्षेत्रमा आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा कन्सर्ट आयोजना गरिएको छ । चर्चित साङ्गीतिक व्याण्ड नेपथ्यको विशेष प्रस्तुति रहने कार्यक्रमको तयारी गर्दा पुनः किनार क्षेत्र लथालिङ्ग हुने देखिन्छ । त्यस्तै यसै क्षेत्रमा फागुन ५ गते पनि स्याडोज व्याण्डले कन्सर्ट आयोजना गरेको छ ।
नदी किनार संरक्षणका लागि यसअघि रामप्रसाद श्रेष्ठको संयोजकत्वमा नारायणी नदी किनार संरक्षण तथा विकास समिति गठन गरिएको थियो । नदी संरक्षणका लागि कोष स्थापना गर्न विराट ज्ञान महायज्ञसमेत सञ्चालन गरिएको थियो । तर भरतपुर उपमहानगरपालिकाले पुनः स्वामित्वको बखेडा झिकेर संरक्षण कार्यमा असहयोग गरेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले बताए ।