डेढ सातामा ग्यास वितरण सहज हुने

माघ २३ , काठमाडौं-उपभोक्ताले सहज रूपमा ग्यास पाउन अझै डेढ साता कुर्नुपर्ने भएको छ। नेपाल आयल निगमले गत आइतबारदेखि आवश्यकभन्दा बढी परिमाणमा ग्यास भित्र्याउन सुरु गरे पनि उपभोक्ताको आवश्यकता तत्काल पूरा नहुने भएको छ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले ग्यासको अभाव अबको डेढ सातापछि मात्र पूर्ण रूपमा समाधान हुने जानकारी दिए। उनका अनुसार गत सातादेखि भारतीय आयल कर्पोरेसनका मथुरा, कर्णाल, हल्दिया र बरौनी प्रशोधन केन्द्रबाट दैनिक ८० बुलेटको हाराहारीमा ग्यास नेपाल भित्रिँदै आएको छ।
एक बुलेटमा करिब १८ मेट्रिक टन ग्यास ९एक हजार दुई सय ६५ वटा सिलिन्डर० हुन्छ। ८० बुलेटबाट एक लाख एक हजार दुई सय सिलिन्डर तयार हुन्छ।

सामान्य अवस्थामा भने ४५ देखि ५० बुलेट मात्रै निगमले ग्यास आयात गर्दै आएको थियो। भारतबाट बुलेट भित्रन, सिलिन्डरमा भर्न, भरिएका सिलिन्डर उद्योग हुँदै डिलरमार्फत उपभोक्ताको कोठासम्म पुग्न करिब १० दिनजति लाग्छ।

निगमका अनुसार जनवरी महिनाको कुल कोटा २६ हजार एक सय ५७ मेट्रिक टनमध्ये बाँकी रहेका अढाई सय बुलेट ९करिब तीन लाख २० हजार सिलिन्डर० शुक्रबार साँझसम्म ६ वटा नाका हुँदै नेपाल भित्रिँदैछ।

भित्रिएका सबै ग्यास सोही कोटाबाट दैनिक ८० बुलेट ग्यास अहिले विभिन्न उद्योगलाई वितरण गरिँदै आएको छ। भित्रिने ८० बुलेटमध्ये करिब ४२ बुलेट उपत्यकामा वितरण गर्ने ग्यास कम्पनीलाई उपलब्ध गराइँदै आएको निगमले जनाएको छ।

‘आउने डेढ साताभित्र जनवरी महिनाको आउन बाँकी सबै कोटा शुक्रबारसम्म नेपाल भित्रिँदैछ’, प्रवक्ता घिमिरेले भने, ‘बाँकी सबै ग्याँस आयात भइसकेपछि फिलिङ गरेर तीन लाख २० हजार सिलिन्डर नै वितरण गर्ने व्यवस्था गरेका छौं। यो वितरणपश्चात् अहिले देखिएको अभावको अवस्था समाप्त हुने हाम्रो विश्लेषण छ।’ नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेका अनुसार अहिले राजधानीमा झन्डै ३५ हजार सिलिन्डर दैनिक वितरण भइरहेको छ।