राप्रपा नेपालको अवरोधकाबीच प्रश्नावली समितिको म्याद थप

माघ २२, काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अवरोधलाई कुनै प्रवाह नगरी संविधानसभाले प्रश्नावली प्रस्ताव समितिको म्याद थपेको छ । प्रश्नावली प्रस्ताव समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई संविधानसभाको बैठकको सर्वसम्मतिले पारित गर्दै ५ दिनका लागि थप गर्ने निर्णय गरेको संसद सचिवालयले जनाएको छ । आजको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अवरोधकाबीच नै बसेको थियो । प्रश्नावली समितिको कार्यविधि आफूहरुका एजेन्डा राख्न नमिल्ने गरी बनाइएको भन्दै राप्रपा नेपालका सभासदहरुले रोष्ट्रम घेरेका थिए ।

अवरोधकाबीच नै जेष्ठ सदस्य गुरुङले म्याद थपसम्बन्धी प्रस्ताव पेश गरेका थिए । संविधानसभाको अर्को बैठक माघ २९ गते बस्ने छ । यसैबिच  सङ्घीयता, धर्मनिरपेक्षता र राजसंस्थाको विषयमा पनि प्रश्न बनाउनुपर्छ भन्ने पार्टीको माग भए पनि नेपाली काँग्रेस र नेकपा९एमाले०लगायत दलले जबर्जस्ती गरेको अध्यक्ष कमल थापाले आरोप लगाएका छन् ।

अध्यक्ष थापाले आफूहरु प्रक्रियाका आधारमा संविधान जारी गर्नुपर्छ भन्ने मान्यतामा रहेको भए पनि फरक विचारलाई निषेध गर्ने प्रवृत्ति गलत र घातक भएको भन्दै प्रजातन्त्रमा कोही कसैलाई निषेध गर्न नमिल्ने धारणा राखेका छन् । यही माघ ११ गते गठित प्रस्ताव समितिको माघ १७ गते बसेको बैठकले बनाएको कार्यविधिमा सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायत विषयमा मतदान नहुने र प्रश्न नबन्ने उल्लेख छ । प्रस्ताव समितिमा सहभागी भएको राप्रपा नेपालले आफूहरुको माग सुनुवाइ नभएको भन्दै बैठक नै बहिस्कार गरेको थियो ।