बलात्कारी प्रहरी सहायक निरीक्षक बिरुद्ध पाँच बर्ष कैद फैसला

माघ २२,अछाम-जिल्ला अदालत अछामले किशोरी बलात्कार गर्ने प्रहरी सहायक निरीक्षक लालमणी नाथ बिरुद्ध पाँच बर्ष कैदको फैसला सुनाएको छ । अदालतले कैद सजायसंगै नाथबाट नै पीडितलाई ५० हजार क्षतिपुर्ति भराउने फैसला समेत सुनाएको हो । जिल्ला अदालत अछामका न्यायधिश विष्णुप्रसाद अर्यालको एकल इजलासले नाथले किशोरीलाई बलात्कार गरेको ठहर गर्दै पाँच बर्ष कैद तथा पीडित किशोरीलाई ५० हजार क्षतिपुर्तिको फैसला सुनाएको हो ।

अदालतका श्रेष्तेदार नेत्र माझीले दिएको जानकारी अनुसार नाथ बिरुद्ध अछामको घुघुरकोट नीवासी एक किशोरीलाई घरमै आएर गत असार ३० गते राती बलात्कार गरेको भन्दै किशोरीका आफन्तले साउन १ गते प्रहरीमा जाहेरी दिएका थिए । नाथ बिरुद्ध प्रहरीले जिल्ला अदालतमा जर्वजस्ति करणीमा मुद्दा दर्ता गरेको थियो । बैतडीको रुद्रेश्वर–६ घर भएका नाथ इलाका प्रहरी कार्यालय घुघुरकोटमा कार्यरत रहेका थिए ।