चितवनको दाहाखानीका विद्यालय सरकारी बेवास्ताले दयनीय

माघ २२,चितवन- चितवन भरतपुरबाट १६ किलोमिटरको दुरीमा रहेको दाहाखानी गाविसको राष्ट्रिय प्राथमिक विद्यालय दाहाखानी र राष्ट्रिय माध्यमिक विद्यालयमा सरकारको बेवास्ताको कारण शैक्षिक अवस्था दयनिय बन्दै गएको छ । शिक्षकको पर्याप्त दरबन्दी नहुनु, विद्यालयको भौतिक संरचना कमजोर हुनुलगायतका समस्याले विद्यालयको शैक्षिक अवस्था दयनिय बनेको हो । पर्याप्त शैक्षिक सामाग्री र उपयूक्त भौतिक संरचना नभएपछि विद्यार्थीहरु निकै समस्यामा परेका छन् ।

सदरमुकामबाट नजिकै रहेपनि दाहाखानी गाविसका विद्यालय र यहाँका विद्यार्थीहरु शैक्षिक क्षेत्रमा धेरै पछाडि परेका छन् । विशेष गरि चेपाङ, तामाङलगायत जनजातीहरुको बाहुल्यता रहेको दाहाखानीमा विकासले प्रभावकारी गति लिन नसकदा पनि यहाँका सरकारी विद्यालयको शैक्षिक अवस्था कमजोर बनेको हो । ५ सय २६ जना विद्यार्थी अध्ययनरत विद्यालयमा प्राविको लागि ४ जना, निमाविका लागि १ जना, शिशु कोटाका लागि ४ जना र ४ जना निजी स्रोतका शिक्षक कर्मचारी छन् भने माध्यमिक तहमा एउटा पनि शिक्षक दरबन्दी छैन ।