गतिरोध अन्त्यका लागि सत्तापक्ष नै लचिलो हुनुपर्ने सभाध्यक्षको भनाई

माघ २१, काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गतिरोध अन्त्यका लागि सत्तापक्ष लचिलो हुनुपर्ने बताएका छन् । आज संविधानमा समेटिनुपर्ने विषयमा दलित नागरिक समाजको २० बुँदे अवधारणापत्र बुझ्दै नेम्वाङले संविधानसभाले प्रश्नावली प्रस्ताव समिति गठन गरेर काम अघि बढाएपनि आफू अझै पनि सहमतिको पक्षमा रहेको भन्दै सहमतिका लागि प्रधानमन्त्री सुशील कोइराला तथा सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले बढी लचिलो हुनुपर्ने बताए ।

उनले दलहरुबीच सहमति कायम हुन नसकेको अवस्थामा भने संविधानसभा चुप लागेर नबस्ने पनि प्रष्ट पारे । उनले नयाँ संविधान दलित मैत्री हुनेमा निर्धक्क हुन दलित अधिकारकर्मीहरुसँग आग्रह पनि गरेका छन् ।