शिक्षा नीति परिवर्तन जरुरी : मन्त्री बस्नेत

माघ २१,भक्तपुर- उद्योग मन्त्री महेश बस्नेतले नेपालको शिक्षा नीति परिवर्तनको खाँचो रहेको औँल्याएका छन् । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयको साधारणसभा एवम् सीप विकास तालिमको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन नभएसम्म बेरोजगारी समस्या समाधान नहुने बताए ।

नेपालको शिक्षा गरिखाने शिक्षा नभएको बताउँदै उनले व्यावहारिक र सीपयुक्त शिक्षाले मात्र देशको बेरोजगारी समस्या हल गर्ने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमै प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नीति अबलम्बन गर्नसके स्वदेशमै आफ्नो सीप बेचेर बाँच्न सक्ने बताउँदै मन्त्री बस्नेतले यस्तो शिक्षा भए विदेशमा जाने नेपालीले पनि जोखिम मोल्ने काम नभई सीपअनुसारको काम पाउन सक्ने बताए ।