आज विश्व क्यान्सर दिवस,नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाईंदै

काठमाडौँ – आज विश्व क्यान्सर दिवस, अन्धविश्वास नबसौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।

क्यान्सर रोग लागेका धेरैजसो विरामीमा निको हूँदैन भन्ने अन्धविश्वास रहेको पाइएकाले यस वर्षको नारा अन्धविश्वासमा नबसौं तय गरिएको हो । क्यान्सर रोगको संक्रमण देखिने बितिकै उपचार गराए निको हुने चिकित्सकले बताएका छन् ।

यस्तै खानपानमा ध्यान पुर्याए  क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बरालले बताउनुभयो ।

सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले क्यान्सरको जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ । नेपालमा ६० हजार जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ । वातावरण्ँ र खानापानमा उचित ध्यान नदिँदा विरामी बढ्दै गएका हुन् ।

सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएका डाक्टर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय किशोरीहरुमा पनि स्तन क्यान्सरको समस्या बढ्दै गएको छ ।
स्तन क्यान्सरको बारेमा सचेत नहँुदा आउँदा वर्षमा यसको जोखिम थप बढ्दै जाने अनुमान गरिएको छ । धुमपान, मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।