मस्यौदा उपसमिति बन्यो

माघ १९ ,काठमाडौँ –प्रश्नावली प्रस्ताव निर्माण समितिले संविधनमा सहमति हुन नसकेका विषयमा प्रश्नावली मस्यौदा बनाएर पेश गर्न नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा नौ सदस्यीय प्रस्ताव मस्यौदा उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले उपसमिति गठन गर्दै समितिको भोलीे बस्ने बैठकमा प्रश्नहरुको मस्यौदा पेश गर्न जिम्मेवारी दिएको छ । उपसमितिमा कांग्रेसका रमेश लेखक र राधेश्याम अधिकारी, एमालेका श्रीमाया थकाली र कृष्णभक्त पोखरेल, नेकपा मालेका सीपी मैनाली, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सभासद अतहर कमाल मुसलमान सदस्य रहनु भएको छ । समितको भोली दिउसो ३ बजे बस्ने बैठकमा उपसमितिले प्रश्नावलीको मस्यौदा पेश गर्नेछ ।

समितिले आफ्नो कार्यविधिमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विषयमा प्रश्नावली नबनाउने निर्णय गरिसकेकेो छ । उपसमितिले संविधानसभाको संवाद समितिले असहमति किटान गरेर पठाएका विषयहरु, विभिन्न दलले पेश गरेका धारणहरुमा आधारित रहेर प्रश्नावली बनाइने जनाइएको छ । प्रश्नावली प्रस्ताव समितिले निर्धारित ५ दिनभित्र काम नसकेमा समय थप्न सकिने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बताउनु भएको छ । यहि अवधिमा दलहरुलाई सहमतिका लागि पर्याप्त समय समेत रहेको नेम्बाङले बताउनु भयो ।