आईएसद्धारा अर्का जापानी बन्धकको हत्या

माघ १८,काठमाडौँ –   हत्या गर्ने चेतावनी दिदै आएको इस्लामिक स्टेट लडाकु समूहले सिरियाबाट अपहरित जापानी नागरिक केन्जी गोटोको शिर छेदन गरिएको देखिने एउटा भिडिओ सार्वजनिक गरेको छ। अर्का जापानी नागरिक हारुन युकावाको शिर छेदन गरिएको समाचार आएको एक साताभन्दा पनि कम समयमा उक्त भिडिओ बाहिर आएको हो।  फिल्म निर्माताको समेत परिचय बनाएका ४७ वर्षीय स्वतन्त्र पत्रकार गोटो अपहरित युकावाको रिहाइको प्रयास गर्न भनि गत अक्टोबरमा सिरिया गएका थिए। जापानले उक्त भिडिओको आधिकारिकता जाँच्ने काम भईरहेको जनाएको छ।

पछिल्लो भिडिओमा पनि अघिल्लोमा जस्तै ब्रिटिस शैलीको उच्चारण भएका एकजना लडाकूले गोटोको घाँटी काटेको देखाईएको छ। जापान सरकारका प्रवक्ताले उक्त भिडिओले आफूहरुलाई स्तब्ध बनाएको उल्लेख गर्दै त्यसबारे प्रतिक्रियाको निम्ति मन्त्रिपरिषद्को बैठक बसिरहेको जानकारी दिए। प्रधानमन्त्री शिन्जो आबेले भने, “जापान आतंकवादसँग हार मान्ने छैन्।” केन्जी गोटोको भएको भनिएको हत्याका जिम्मेवारहरुलाई न्यायको कठघरामा ल्याउन जापानले अन्तर्राष्ट्रिय समुदायसँगै काम गर्ने उनले बताए। गोटोका भाई जुनिचिले जापानी टेलिभिजन एनएचकेसँग भने, “केन्जीले आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिन उनी जीवित फर्किने आशा गरेको थिएँ, तर म गम्भीर शोकले भरिएको छु, उनले त्यसो गर्न सकेनन्।”

अमेरिकी राष्ट्रपति बराक ओबामाले एउटा वक्तव्य जारी गर्दै भनेका छन्, “गोटोको घृणित हत्याको अमेरिका निन्दा गर्दछ।” गोटोको भएको भनिएको हत्याको ब्रिटेन र फ्रान्सले पनि भर्त्सना गरेका छन्। अर्का नागरिकको हत्याबाट प्रधानमन्त्री शिन्जो आबे क्रुद्ध बनेको बताईएको छ ।  ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरनले आईएसलाई ‘मानवीय जीवनप्रति कुनै सरोकार नभएको पापको अवतार’ को संज्ञा दिएका छन्।