राप्रपाले पनि दियो प्रश्नावली समिति बहिस्कार गर्ने चेतावनी

माघ १८,काठमाडौँ- संविधानसभाको चौथो ठुलो शक्ति राप्रपा नेपालले पनि प्रश्नावली समिति बहिस्कार गर्ने चेतावनी दिएको छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे संविधानसभामा मतदान गर्नुपर्ने आफ्नो मागमा कांग्रेस र एमालेले सहमति नजनाएपछि राप्रपा नेपालले प्रश्नावली समितिअन्तरगतको उपसमितिको बैठक बहिस्कार गरेको बताइएको छ । उसले प्रश्नावली समिति नै बहिस्कार गर्ने चेतावनी दिएको छ । संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठित समितिमा एमाओवादी र मधेसीवादीसहितका १९ दल पनि अनुपस्थित छन् ।

प्रश्नावली समितिको कार्यविधि बनाउन गठित उपसमितिको आइतबारको बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्नावली बनाउनुपर्ने माग गरे । पहिलो संविधानसभाको अवसानसँगै त्यसका गरेका निर्णयहरु कायम नरहेको भन्दै राप्रपा नेपालले भने अब सबै विषयमा नयाँ शिराबाट जानुपर्ने बताएको छ ।  संविधानसभाको माघ ११ गतेको बैठकले विपक्षीको नाराबाजीका वीच प्रश्नावली समिति बनाएको थियो । तर, ७३ सदस्यीय समिति विपक्षी नआएका कारण हाल ४९ सदस्य मात्र छन् ।