एमाओवादी नआए पनि संविधान आउँछ -गृहमन्त्री गौतम

माघ १६,काठमाडौँ – उपप्रधान् एवम् गृहमन्त्री वामदेव गौतमले संविधान बनाउन बिलम्ब भएको भन्दै छिटो भन्दा छिटो संविधान दिनु आजको आवश्यकता भएको औँल्याएका छन् । उनले अब एमाओवादी लगायत उसका पछी लाग्ने मोर्चा नआएपनि प्रक्रियाबाटै आगामी दुई चार महिनाभित्रमा नै मुलुकले नयाँ संविधान पाउने ठोकुवा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतमले विपक्षी एमाओवादी र मधेशवादी दलहरुले संविधानसभा बाट संविधान जारी नचाहेको उल्लेख गर्दै भने–‘हामीले त उहाँहरुलाई संविधान लेखनको यो महान अभियानमा सहभागी हुन आग्रह गरिरहेका छौं, अब उहाँहरु आउनु भएन भने उहाँहरु जनताबाट बहिष्कार हुने निश्चित छ ।’

मन्त्री गौतमले लोकतान्त्रिक विधि र प्रक्रियामा बहुमतको उच्चकदर हुनुपर्ने ठाउँमा अल्पमतले बहुमतलाई खेलाउन खोजेको आरोप लगाए । उनले भने–‘संविधानसभाभित्र रहेका १ सय ५० जना सभासदहरुले ४ सय ५० जनालाई घुर्की लगाउन मिल्दैन, तीनचौथाई सभासदहरुले अघि बढाएको प्रक्रियाबाटै मुलुकले नयाँ संविधान पाउँछ, म यसमा पूर्णरुपमा विश्वस्त छु ।’