कुनै पनि हालतमा हुँदैन जातिय राज्य -एमालेका अध्यक्ष ओली

माघ १६,काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा एमाओवादीले भने जस्तो जातिय राज्य बनाउन नसकिने बताएका छन् । प्रगतिशील प्राध्यापक सङ्घको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले बहुजातिय, बहुभाषीक मुलुक मा जातीयताका आधारमा नेपाललाई विभाजन गर्न नसकिने बताएका हुन् । उनले हरेक दिन सहमतिको प्रयास गर्दा पनि सहमति नभएपछि प्रक्रिया अगाडि बढाएको र प्रक्रिया अघि बढे पनि सहमति प्रयास भइरहने बताए।

अध्यक्ष ओलीले सहमतिका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै जनताको मत र राष्ट्रको भलाइका लागि संविधान लेख्नुपर्नेमा जोड दिए ।संविधान कुनै एउटा पार्टीको कार्यसूची नभएको भन्दै उनले मुलुकको उन्नति, समृद्धि र नेपाली जनताको हकअधिकारका लागि चाहिएको हुनाले कसैले पनि विरोध गर्न नहुनेमा जोड दिए ।

ओलीले बहुजाति, बहुभाषी रहेको मुलुकमा जातीय राज्य निर्माण गर्दा सबै जातिलाई सहभागी गराउन नसक्ने हुनाले थप समस्या उत्पन्न हुने भएकाले पार्टीले जातीय राज्य हुनु नहुने भन्ने अडान लिएको बताए ।