राष्ट्रिय लिगमा लुम्बिनीमाथि मनाङको १–० को जित

माघ १६,काठमाडौँ – राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो खेल जितेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङले लुम्बिनी फुटबल क्लब बुटवललाई १–० ले हराएको हो ।

तर यो खेलमा लुम्बिनीलाई हराउन मनाङले निक्कै संघर्ष गर्नु परेको थियो । मनाङलाई जिताउन खेलको एक मात्र गोल सुजल श्रेष्ठले ५६ औं मिनेटमा गरे । बिराज महर्जनको फ्रि किकमा सुजलले हेड मार्फत गोल गरेका थिए । पहिलो खेलमा मनाङले सुदुरपश्चिम फुटबल क्लब कैलालीलाई हराएको थियो ।
५६ औं मिनेटमा गोल खाएर दवावमा परेपनि लुम्बिनीले गोल फर्काउने मौका पाएको थियो । तर लुम्बिनीले त्यसलाई सदुपयोग गर्न सकेन भने मनाङले पनि गोल थप्ने मौका खेर फालेको थियो । ८२ औं मिनेटमा लक्ष्मण रुचाल दोश्रो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि लुम्बिनी १० खेलाडीमा सिमित रहेर दवावमा परेको थियो ।
हारपछि लुम्बिनीका प्रशिक्षक यम गुरुङले टिमको संयोजन नमिलेका कारण मनाङसँग हार्नु परेको बताए । ‘हाम्रो टिम सेट नै भएन ।’ उनले भने ‘मनाङ नेपालकै बलियो टिम हो र उनीहरुको सेट मिलेको थियो ।’ मनाङसँग हार्दा आफूलाई दुःख नलागेको गुरुङले बताए । लिगको पहिलो खेलमा नेपाल पुलिसलाई हराउने लुम्बिनीका प्रशिक्षक गुरुङले आउँदा दिनमा बल नियन्त्रणमा राख्ने र राम्रो खेल्ने बताए ।