ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गर्न आयल निगमलाई निर्देशन

माघ १४,काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजारमा देखिएको ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारवाही गर्न पनि निर्देशन दिइएको छ । बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव हटाउन र ग्यास आपूर्तिलाई दश दिनभित्र सहज बनाउन प्रधानमन्त्री कार्यालयले निगमलाई निर्देशन दिएको हो ।

मूख्यसचिव लीलामणि पौडेल संयोजक रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले अइल निगमलाई स्पष्ट कार्ययोजनासहित कार्य अघि बढाउन पनि निर्देशन दिएको छ ।निगम उपभोक्तासम्म सहज रुपमा पुगेको सुनिश्चितता हुने गरी आवश्यक अनुगमन गर्ने, ग्यास आपूर्ति सहज बनाउन थप पूर्वाधार विकास गर्ने गरी कार्य अघि बढाउने र न्यूनतम एक महिना पुग्ने गरी मौज्दात राख्नेसमेत व्यवस्था मिलाउने भनिएको छ ।
ग्यासको व्यावसायिक र घरेलु प्रयोगका लागि तोकिएको निलो र रातो सिलिन्डर प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि भनिएको छ ।
यसैगरी, आगामी बैशाख २ गतेभित्र सबै क्षेत्रका सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीले पाठ्यपुस्तक पाउने सुनिश्चित गरी प्रकाशन र वितरणको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशक दिइएको छ ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड र साझा प्रकाशनलाई समन्वयात्मक तथा योजनावद्ध ढङगले कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको छ ।