थ्रीस्टारलाई लगातार दोस्रो सफलता, सुदुरपश्चिमाञ्चल ३-० को पराजित

माघ १४,काठमाडौं- रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा ए डिभिजन क्लव थ्रीस्टारले सुदुरपश्चिमाञ्चल फुटबल क्लव कैलालीलाई ३-० ले पराजित गरेको हो ।

खेलको ७३ औं मिनेटसम्म गोलरहित बराबरीमा खेलेको कैलालीले अन्तिम २७ मिनेटमा तीन गोल खाएको हो ।
थ्रीस्टारलाई जिताउने क्रममा अमर डंगोलले दुई तथा सन्तोष साहुखलले एक गोल गरे ।
यसअघि पहिलो खेलमा मोरङ फुटबल क्लवलाई पनि ३-० ले नै पराजित गरेको थ्रीस्टार ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा मनाङ मस्र्याङ्दीसँग पराजित भएको कैलालीको यो लगातार दोस्रो हार हो ।
लिग अन्तर्गत बिहीबार विभागीय प्रतिद्धन्द्धीहरु त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी भिड्दै छन् ।
सशस्त्रले पहिलो खेल खेल्दैछ भने आर्मीले पहिलो खेलमा पूर्वाञ्चलको झापा ११ लाई पराजित गरेको थियो ।