राष्ट्रिय लिग फुटबलमा आर्मीद्वारा झापा पराजित

माघ १३,काठमाडौं– त्रिभुवन आर्मी क्लबले भापा एघार फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा आर्मीले झापा एघारलाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै आर्मीले शीर्ष तीन अङ्क जोडेको छ ।

आर्मीको जितमा टेकबहादुर बुढाथोकी नायक बने । उनले खेल सुरुआतीको छैटौँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल साबित भयो । आर्मीका राजु तामाङको कर्नर बललाई सदुपयोग गर्दै बुढाथोकीले हेड गोल गरेका थिए ।
खेलको निर्धारित समयसम्म गोल फर्काउन निकै प्रयासरत झापा एघार खेलको छैटौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । जारी प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब र लुम्बिनी फुटबल क्लबले पनि समान तीन तीन अङ्क जोडेका छन् ।
यसअघि भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दीले सुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गरेको थियो भने थ्रिस्टार मोरङ फुटबल क्लबलाई र लुम्बिनी नेपाल प्रहरी क्लबलाई पराजित गर्दै विजयी भएका थिए । बुधबार थ्रिस्टार क्लबले सुदूपश्चिमाञ्चल फुटबल क्लबको सामना गर्नेछ ।