सत्ताधारी दलले वार्तामा आउन विपक्षी मोर्चालाई आग्रह

माघ १३,काठमाडौं- काङ्ग्रेस–एमाले लगायत सत्ताधारी दलले संविधानका विवादित विषयमा छलफलमा सहभागी हुन विपक्षी मोर्चालाई औपचारिक रुपमा आग्रह गर्ने भएका छन् । आज सरकारमा सहभागी भएका दलहरुको बैठक बसेर वार्ता र सम्वादमा आउन संयुक्त रुपमा आग्रह गर्ने तयारी छ । दिउँसो बैस्ने बैठकले काङ्ग्रे,एमाले लगायत सरकारमा रहेका दलका शीर्ष नेताहरुको हस्ताक्षर भएको बिज्ञप्ती निकाल्ने काङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकको समय र स्थानको बारेमा भने टुङ्गो नलागेको प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकास अधिकारीले बताउनुभयो । हिजो बालुवाटारमा बसेको काङ्ग्रेस र एमालेको बैठकले संविधानसभामा फरक मत राख्ने एकीकृत माओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने र संविधान निर्माण प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको थियो । एकलौटीमा रुपमा बहुमतीय प्रक्रिया सुरु गरेकोभन्दै विपक्षी मोर्चाले भने सरकार,सत्ताधारी दल र संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई असहयोग गर्ने निर्णयगर्दै हिजो चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।