जुम्लाका स्वास्थ्य संस्थामा बिसिजी खोप पठाउने तयारी

जुम्ला-बिसिजीको खोप आइसकेपछि जुम्लामा पनि यस महिनादेखि खोप क्लिनिक नियमित रुपमा सञ्चालन हुने भएका छन् । बालबालिकालाई जन्मेको एक महिनाभित्रै क्षयरोग बिरुद्ध लगाउनु पर्ने बिसिजी खोप गएको कात्तिकबाट अभाव भएको थियो । यसै हप्ता जिल्ला स्वास्थ्य कार्यालयमा खोपको भाइल पर्याप्त मात्रा आइसकेकोले केहि दिनमैं सबै स्वास्थ्य संस्थामा पठाइने भएको छ ।

अरु खोपको भाइल जिल्लामैं मौज्दात रहेको तर बिसिजी खोपको भाइल नभएका कारण स्वास्थ्य संस्थाले खोप क्लिनिक समेत सञ्चालन गर्न सकेका थिएनन् । जुम्लाका २६ गाविस तथा चन्दननाथ नगरपालिमा सञ्चालित स्वास्थ्य संस्थाले हरेक महिना १५ गते र २१ गते गरि दुई चरणमा खोप क्लिनिक सञ्चालन गर्छन् । स्वास्थ्य सेवा बिभाग बाल स्वास्थ्य महाशाखाले खोपको भाइल पठाइसकेकोले अब अभाव हुन नपाउने बताइएको छ ।