आन्दोलनमा जाने तयारीमा प्रचण्डको मोर्चा

माघ १२,काठमाडौँ –  एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले सत्तासाझेदारको आडमा संविधानसभाका अध्यक्षले विधि र प्रकृया मिचेर एक्लौटी ढंगले अघि बढ्न खोजेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्ने जनाएको छ । मोर्चाको सोमबार सिंहदरबारमा बसेको बैठकले आन्दोलनलाई थप शसक्त र प्रभावकारी बनाउने निर्णय गरेको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले बताए । प्रवक्ता शर्माले कांग्रे्स एमालेको बलमा संविधानसभाका अध्यक्षले अहिलेसम्मको विधि, प्रकृया, स्थापित मान्यता, अन्तरिम संविधानलाई तोडेर विगतका सहमति भत्काउने काम भएको भन्दै त्यसका विरुद्ध शसक्त आन्दोलन गर्ने बताए ।

विगतमा सबै पक्षसाग भएका सहमति र सम्झौतलाई समावेश गरि संविधान बनाउनु पर्ने भए पनि कांग्रेस एमालेले त्यसलाई कुल्चेको मोर्चाको ठहर छ । अव आफूहरुको प्रमुख काम जनताका अधिकार प्राप्तीका लागि विगतका सहमति कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विभेदरहित संविधान बनाउन निर्णायक ढंगले सडक संघर्ष गर्ने पनि मोर्चाले बताएको छ । मोर्चाको सोमबार दिउसो बस्ने बैठकले थप निर्णय गर्ने बताइएको छ ।