भन्सार महसुल घटाउन चेम्बरको सरकार समक्ष आग्रह

माघ १२,काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले भन्सार महसुल घटाउन आग्रह गरेको छ । ६३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा आइतबार राजधानीमा अन्तरक्रिया गरी चेम्बरले यस्तो आग्रह गरेको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार दरबन्दी नघटेसम्म भ्याट तिर्न नसक्ने बताए । उनले विद्युतीय कारोबारमा जानुपर्नेमा जोड दिँदै भन्सारलाई थप व्यवस्थित गर्न पनि आग्रह गरे । चेम्बरले कारोबार मूल्यलाई पनि मान्यता दिन माग गरेको छ ।आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले व्यवसायीप्रति सरकारले विश्वास गर्न सक्ने वातावरण बनाउन आग्रह गरे । इमान्दारिताका साथ कारोबार परिमाण देखाउन सके भन्सार दर घट्ने शर्माको भनाइ थियो ।

सरकार र व्यवसायीले आ–आफ्नो दायित्व पूरा गरे कुनैपनि समस्या नरहने उनको भनाइ थियो । उनले भन्सारको आधुनिकीकरण सुरु भइसकेको उल्लेख गर्दै यसबारे जानकारी पनि गराएका थिए ।