नाकामा बढ्दैछ राजस्व छली

माघ १०,वीरगन्ज – मुलुकका प्रमुख नाकामा राजस्व छलीको धन्दा रोकिनुको सट्टा झन बढ्दै गएको छ । चोरी निकासी पैठारीमा संलग्न व्यवसायीले भन्सारकै मिलेमतोमा धन्दा सुरु गरेको स्रोतको दाबी छ । वीरगन्ज भन्सारमार्फत भित्रिएका २ ट्रक हार्डवेयर सामान प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभागको पथलैयास्थित क्षेत्रीय कार्यालयमा चेकजाँच गराउँदा ७० प्रतिशत वस्तुको राजस्व नतिरेको फेला परेको हो । १३ लाख ४६ हजार जरिवानासहित झन्डै २७ लाख रुपैयाँ धरौटी राखेर व्यवसायीले हार्डवेयर बोकेका ना२ख ९५७४ र ना२ख ६७५४ नम्बरको ट्रक माघ पहिलो साता छुटाए । प्रज्ञापनपत्रमा घोषणा नभएका सरेस ९चपरा०, जुत्ता ब्रस, हतौडीलगायत वस्तु ठूलो परिमाणमा फेला परेको उनले बताए । १२ हजार पिस घोषणा गरिएको आइरन क्लिप ४७ हजार फेला पर्‍यो । त्यसैगरी ९ सय ६० पिस घोषणा गरेको आइरन लक १ हजार ९ सय थान भेटियो । ुपिसमा मूल्यांकन गरिने वस्तु सेटमा जाँचपास गरी राजस्व छली भएको छ,ु लोहनीले भने । त्यस्तै भन्सारबाट जाँचपास भएर निस्केको यूपी २५ एटी ५१३७ नम्बरको भारतीय मालवाहक ट्रकलाई राजस्व अनुसन्धान पथलैयाको गस्ती टोलीले गत महिना छडके अनुगमनको क्रममा वीरगन्जको बाइपास सडकबाट नियन्त्रणमा लिएर चेकजाँच गर्दा करिब ८ सय ५० बक्सा टाइल्स प्रज्ञापनपत्रमा घोषणाभन्दा बढी फेला पार्‍यो । एउटा बक्सामा १० देखि १५ पिस टाइल्स राखिएको हुन्छ । राजस्वका प्रमुख अनुसन्धान अधिकृत सन्तोष श्रेष्ठले उक्त ट्रकबाट ५ लाख ४२ हजार रुपैयाँ जरिवाना असुल गरिएको बताए । प्रज्ञापनपत्रभन्दा बढी बरामद भएका वस्तु जफत गरेको उनले जनाए । यहाँको नेपाल टाइल्सले भारतबाट टाइल्स आयात गरेको थियो ।