आज ६२ औं विश्व कुष्ठरोग दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं- ६२ औं विश्व कुष्ठरोग दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्षको नारा ‘कुष्ठरोग मुक्त समाजको परिकल्पना, नयाँ प्रविधि मानव अधिकार र पुनस्र्थापना’ भन्ने तय गरिएको छ । समयमै उपचार गरेमा कुष्ठरोग निको हुने भएकाले सजक बन्न डाक्टरले आग्रह गरेका छन् । कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार यो रोग लाग्न सुरु गरेको ६ महिनामा यसको उपचार भए पूर्ण रुपमा निको हुन्छ ।

यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने भएकाले शरीरमा नचिलाउने फुस्रो दाग देखापरेमा तुरुन्त उपचार गराउन डाक्टरको सल्लाह छ । कुष्ठरोगको उपचार स्वास्थ्य संस्थाहरुमा निःशुल्क हुन्छ । सुरु अवस्थामा नै उपचार गरे अपांगता नहुने डाक्टरहरु बताउँछन् । सरकारी तथ्याँक अनुसार हरेक वर्ष तीनहजार भन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरु उपचारको लागि अस्पताल पुग्ने गर्छन् ।
यीमध्ये झण्डै ४ प्रतिशत बिरामी रोग थाहा हुनु पहिले नै अपांगता भैसकेका हुन्छन् । ८५ प्रतिशतभन्दा धेरै समस्या तराई क्षेत्रमा रहेको छ । सुरुको अवस्थामा रोगको पहिचान गरी पूर्ण उपचार गरी रोगको संक्रमण तथा अपांगता हुन नदिनु नै अहिलेको चुनौती रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।