फोटो सहितको मतदाता नामावली संकलन हुँदै

माघ १० , काठमाडौं-जुम्लामा आगामी फागुन पहिलो हप्ताबाट गाविस तथा नगरपालिकाका वडामा फोटो सहितको मतदाता नामावली संकलन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले गाविस र नगरपालिकाका वडा स्तरमा पुगेर विगतमा छुटेकाहरुको नामावली संकलन गर्नुका साथै त्रुटी सच्याउन लागेको हो । उमेर पुगे पनि दर्ता प्रक्रियामा छुटेका व्यक्तिको फोटोसहितको मतदाता नामावली संकलन, भएका त्रुटी सच्याउने र बसाई सराई भएका व्यक्तिहरुको नामावली सच्याइने जिल्ला निर्वाचन अधिकारी युवराज न्यौपानेले बताउनुभयो । २६ वटा गाविस तथा चन्दननाथ नगरपालिकाका १५ वटा वडा गरि ४१ स्थानमा छुटेकाहरुको नामावली संकलन तथा त्रुटी सच्याइने उहाँको भनाइ छ । मतदाता नामावली भएको त्रुटी सच्याएपछि र छुटेकाहरुको फोटो सहितको मतदाता नामावली संकलन भएपछि निर्वाचन आयोगले सबैलाई स्थायी प्रकृतिको फोटो सहितको मतदाता परिचयपत्र प्रदान गर्ने तयारी गरिरहेको छ ।