संविधान नआएपछी उद्योगी–व्यवसायी निराश

माघ ९,विराटनगर – राजनीतिक दलहरुले आफैंले जनाएको प्रतिबद्धताअनुसार माघ ८ संविधान आउने दिन थियो । तर, दोस्रो संविधानसभाबाट पनि दलहरु तोकिएकै समयमा संविधान दिन असफल बनेका छन ।तोकिएकै समयमा मुलुकले संविधान पाउला भनेर ढुक्क देखिएका विराटनगरका उद्योगी–व्यवसायीले दलहरुले संविधान दिन असफल भएपछि नयाँ लगानी थप्नुभन्दा पनि सन्चालनमा रहेका उद्योेगलाई कसरी बचाउने भनेर चिन्तित देखिएका छन् ।लामो राजनीतिक अस्थिरता र चरम विद्युत् अभावका कारण आक्रान्त बनेका पूर्वका उद्योेगी–व्यवसायी संविधान निर्माणपछि देशले राजनीतिक र आर्थिक फड्को मार्ने आशामा रहेका थिए ।

दलहरुको ‘तान्डव’ले उद्योगी–व्यवसायीको आशामा तुसारोपात ल्याइदिएको उद्योग संगठन मोरङका उपाध्यक्ष मुकेश उपाध्यायको भनाइ छ ।मुलुककै आर्थिककान्तिको अगुवाइ गरेको विराटनगरका उद्योगी–व्यवसायीले ‘राजनीतिक दलका नेताको चरम सत्तालिप्सा र निहीत स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको’ निष्कर्षसमेत निकालेका छन ।संविधान मूल कानुन भएकाले आर्थिक लगानीको पाटोमासमेत यसको प्रभाव बढी हुने अर्थविद्हरुको ठम्याइ छ । समयमै मुलुकले संविधान नपाउँदा राजनीतिक अस्थिरता बढेसँगै लगानीको वतावरणसमेत बिग्रिने अर्थविद् डा. भेषप्रसाद धमलाले बताए ।दलहरुले प्रतिबद्धता जनाएअनुसार निर्धातिर मितिमा संविधान नआउँदा सबैभन्दा बढी मार निजी क्षेत्रले ब्यहोर्ने भन्दै विराटनगरका उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।