नेता कार्यकर्तालाई सुरक्षा चाहियो – एमाले

माघ ८, काठमाडौं – बुधबार भएको झडपका कारण नेकपा एमालेले सप्तरी जिल्लाका आफ्नो नेता कार्यकर्ता तथा पार्टी कार्यालय एमाओवादी तथा मधेशी मोर्चाबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरेको छ । एमालेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरी जिल्ला कार्यालयमा एमाओवादी मोर्चाले आगजनी गरेको र स्थानीय नेतामाथि कुटपिट गरिएको आरोप लगाएको हो ।एमाले महासचिव इश्वर पोखरेलले विहीवार विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएका हुन् । ‘सप्तरी जिल्ला कमिटीको कार्यालयमा सुनियोजित रूपमा गरिएको आगजनी, जिल्लाका विभिन्न नेताहरूलाई निरन्तर दिइएको धम्की र पार्टी कार्यकर्ताहरूमाथि भएको साङ्घातिक आक्रमणको घटनाबाट सिङ्गो पार्टी गम्भीर भएको छ,’ महासचिव पोखरेलले भनेका छन् ।
आगजनीको बिरोधमा बुधवार आयोजित विरोधसभा सकेर घर फर्किने क्रममा एमालेका जिल्ला नेता तथा दलित समुदायका अगुवा शुभकलाल राममाथि सांघातिक आक्रमण गरि गम्भिर घाइते बनाएको एमालेले जनाएको छ ।