‘एक घर दुई रुख’को नीति अवलम्बन

माघ ८, काठमाडौं- नगर क्षेत्रभित्र वृक्षरोपणमार्फत हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ लहान नगरपालिका कार्यालयले अगामी आर्थिक वर्षदेखि भवन निर्माणमा ‘एक घर दुई रुख’को नीति अवलम्बन गर्ने भएको छ ।

लहान नगर क्षेत्रलाई सुन्दर, स्वच्छ, र हरियाली बनाउने उद्देश्यले नगरपालिका कार्यालयले अगामी आर्थिक वर्ष २०७२÷७३ बाट यस्तो नीति अवलम्बन गर्ने भएकोे हो । अब भवन निर्माण सम्पन्न प्रमाणपत्रका लागि आवेदन पेस गर्दा नवनिर्मित घर परिसरमा दुईवटा बहुवर्षीय बिरुवा लगाएको फोटोसमेत अनिवार्यरूपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरिएको लहान नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

लाखौँ रुपैयाँ खर्चेर नगर क्षेत्रमा घर बनाउने तर घर वरिपरि रुख नरोप्ने प्रवृत्ति देखिएकाले यसमा सुधार ल्याउन नगरपालिकाले नगरपरिषद्बाट यस्तो नीति लिएको प्रमुख कार्कीले बताउनुभयो । नगर क्षेत्रमा नागरिकलाई रुख रोप्ने बानी विकास गर्ने र वृक्षरोपणमार्फत हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो नीति अवलम्बन गरेको प्रमुख कार्कीको कथन छ ।