नेट रनरेटका आधारमा नामिबिया नेपालभन्दा अगाडि

माघ ८, काठमाडौं -नेपाल आईसीसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन एकको नजिक पुगेको छ। नामिबियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत बुधबार भएको खेलमा आयोजक राष्ट्रलाई तीन विकेटले हराउँदै नेपालले डिभिजन एकमा उक्लने सम्भावना बलियो बनाएको हो। प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो। नेपाल चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। समान अंक भएको नामिबिया नेट रनरेटमा नेपालभन्दा अगाडि छ।

नेदरल्यान्ड्स र क्यानडाले चारचार अंक जोडेका छन्। अब सबै टोलीले एकएक खेल खेल्न बाँकी छ। नेपालले आगामी शुक्रबार केन्यासँग अन्तिम खेल खेल्नेछ।  जारी प्रतियोगितामा तुलनात्मक रूपमा कमजोर देखिएको केन्यासँग पराजित भए पनि नेपाल डिभिजन एकमा उक्लने सम्भावना छ। नेपाल नेट रनरेटमा नेदरल्यान्ड्स र क्यानडाभन्दा अगाडि छ।

राउन्ड रोबिन लिगको समाप्तिपछि तालिकाको शीर्ष दुई स्थानमा आउने टोली डिभिजन एकमा पुग्ने प्रावधान छ। नेपाल हालसम्म डिभिजन एकमा पुग्न सकेको छैन।