पर्वतको इलाका २ को योजनातर्जुमा गोष्ठी सम्पन्न

सुवास लामीछाने , पर्वत-जिल्ला विकास समिति पर्वतले तय गरेको कार्यक्रम अनुरुप सोमबार इलाका नं। २ को योजनातर्जुमा गोष्ठी सम्पन्न भएको छ । पर्वतको बनौँ, नाग्लिवाङ र क्याङ गाविस समेटिएको उक्त इलाकाको विभिन्न योजना उपर छलफल पश्चात् योजना तर्जुमा गर्दै सम्पन्न भएको हो ।
गोष्ठीमा छलफलका क्रममा तीन ओटै गाविसबाट उपस्थित भएका स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा सर्वसाधारणहरुले विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति न्यून रहेको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सदस्य शेषराज रेग्मीले विषयगत कार्यालयहरुको न्युन उपस्थिति र उपस्थिति जनाएपनि अर्थपूर्ण नभएको भन्दै अन्य इलाका गोष्ठीहरुमा यस्तो अवस्था दोहोरिन नदिन आयोजकले सोच्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति दुर्गाबहादुर खत्रीले समेत स्थानीयबासीहरुको आवश्यकता र माग लाई इलाकाबाट नै सम्बोधन गरिनुपर्नेमा विषयगत कार्यालयको उपस्थिति नभएको भन्दै दुखेसो गरेका थिए ।

इलाका गोष्ठीमा जिल्ला शिक्षा कार्यालय पर्वतबाट स्रोत व्यक्ति सुभन्तनाथ सुवेदीले समग्र चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेका थिए । त्यस्तै पशु सेवा कार्यालयका प्रतिनिधि ऋषि चपाई र स्वास्थ्य कार्यालयका प्रतिनिधि रामप्रसाद चपाईले सामान्य सेवा सुविधाका बारेमा बोलेका थिए । उता बन कार्यालयका प्रतिनिधिले आफुलाई यथार्थ जानकारी नगराएको भन्दै आलटाल गरेपछि स्थानीयबासीहरुले अर्थपूर्ण उपस्थिति हुनुपर्ने बताएका थिए ।
कार्यालयका प्रतिनिधिको हैसियतले इलाका गोष्ठीमा उपस्थिति जनाएपनि आफुहरुले आर्थिक बर्ष २०७२÷७३ मा गर्न सकिने योजना सहित प्रस्तुत नहुँदा जनताका मागलाई सम्बोधन गर्ने गरी उपस्थिति जनाउनुपर्ने बताएका थिए । त्यस्तै गाविस सचिवहरुले आफ्नो गाउँ परिषद्बाट भएको निर्णयलाई प्रस्तुत गर्ने क्रममा समेत विगतका बर्षहरुमा योजनाहरु सम्बोधन हुन नसकेको गुनासो गरेका थिए ।

क्याङ गाविसका गाविस सचिव शेखर घिमिरेले भौगोलिक हिसावले इलाका विभाजन नभएका कारणले संयुक्त योजना ल्याउन अप्ठ्यारो भएको बताएका थिए । कार्यक्रममा नाग्लिवाङ गाविसका सचिव दुर्गाप्रसाद शर्मा, बनौँ गाविसका सचिव त्रिलोचन अर्याल लगायतले निर्णय सार्वजनिक गरेका थिए ।  क्याङ गाविसबाट विभिन्न ३१ ओटा योजना सार्वजनिक गरिएको थियो भने बनौँबाट २५ वटा र नाग्लिवाङ गाविसबाट साना ठूला गरी ५३ वटा योजना सार्वजनिक गरिएको थियो ।  बनौँ गाविसका सचिव त्रिलोचन अर्यालको अध्यक्षतामा सम्पन्न भएको इलाका नंं २ को  गोष्ठीमा जिल्ला विकास समितिको तर्फबाट सुचना अधिकृत एवं टोली प्रमुख तुलसीराम शर्माले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए भने स्वागत क्याङ गाविसका सचिव शेखर  घिमिरेले  गरेका थिए ।

कार्यक्रममा  कांग्रेसका क्षेत्रीय सभापति दुर्गाबहादुर खत्री, नेकपा एमालेका शेषराज रेग्मी, एकिकृत नेकपा माओवादीका गौबहादुर पुर्जा पुन, राप्रपाका बाबुराम केसी, गैससको तर्फबाट माधवराज पाण्डेय, यम मेधासी लगायतले बोलेका थिए ।
त्यस्तै यस अघि मिलनचोकमा सम्पन्न भएको इलाका नं। १ को गोष्ठीमा समेत कार्यालयका प्रतिनिधिहरु सामान्य मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिएपछि आफ्ना गुनासाहरु सम्बोधन नगरी कार्यक्रमबाट निस्किएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि रुद्र आचार्यले विरोध गरेका थिए ।