मलाइ माइकले हाने, छातीमा लाग्यो’ -केपी ओली

माघ ६,काठमाडौं- संविधानसभाभित्र एकीकृत माओवादीसहित विपक्षी सभासदले ‘तान्डव’ देखाएपछि बाहिरिएका सत्तारुढ दलका नेताहरुले घटनाको निन्दा गर्दै सो पार्टी संविधान नबनाउने खेलमा लागेको पुष्टि भएको आरोप लगाएका छन् ।

घटनापछि बाहिरिएका विपक्षी एकीकृत माओवादीका नेताहरुले भने घटनाको बचाउ गरेका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादी ‘उग्रवादको पटाक्षेप’ भएको भन्दै यस्ता घटनाबाट बिचलित नभइकन संविधान बनाउने दिशामा संविधानसभा लाग्ने प्रष्ट गरे ।

एमाले अध्यक्ष केपी ओलीले आफूलाई माइकले छातीमा प्रहार गरेको जानकारी दिँदै यस्ता घटनाबाट आफू नडराउने बताए । ओलीले ‘यस्ता घटनाको प्रतिवाद गर्नुनपर्ने भन्दै जसले जुन बाटो लिन्छ, त्यसको परिणाम उसले पाउँछ’–भने ।

संविधानसभामा तोडफोड गरेर माओवादीले असली रुप देखाएको टिप्पणी ओलीले गरे ।

एमाले उपाध्यक्ष भण्डारीले संवाद समितिका सभापति समेत रहेका माओवादी नेता डा. बाबुराम भट्टराईकै निर्देशनमा छानेर आक्रमण भएको जानकारी दिइन् ।

बैठकपछि बाहिरिँदै सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभामा भएको घटनाको जति भत्र्सना गरेपनि नपुग्ने बताए ।