मध्यरातमा विपक्षी सभासदद्वारा संविधानसभामा तोडफोड

माघ ६,काठमाडौं – एकीकृत नेकपा माओवादी र मधेसवादी दलका सभासदले सोमबार राती संविधानसभा बैठकमा आक्रमण र तोडफोड गरेका छन् । राती १ बजेपछि बसेको बैठकमा प्रश्नावली निर्माण प्रस्तावसम्बन्धी समिति गठनको प्रस्ताव पेस गर्न नपाउँदै सभामा तोडफोड भएको हो ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावलीका लागि प्रस्ताव निर्माण समिति पेस गर्न नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई रोष्ट्रममा बोलाउनासाथ विपक्षी सभासद आक्रमणमा उत्रिएका थिए । उनीहरुले नाराबाजी गर्दै सभाध्यक्ष नेम्वाङमाथि नै आक्रमणको प्रयास गरेका थिए । कुर्सी फोड्ने, माइक भाँच्ने र सभाध्यक्षको आसनतर्फ जुत्ताले प्रहार गर्नेजस्ता अशोभनीय कार्य हुन थालेपछि सभाध्यक्ष नेम्बाङले संविधानसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लाग स्थगित गर्नुभएको छ ।
विपक्षीले अवरोध गर्ने क्रममा मर्यादापालकसँग धकेलाधकेल समेत भएको थियो । रोस्ट्रममा जान खोज्ने सभासद्लाई रोक्न मर्यादापालकलाई निकै हम्मे हम्मे परेको थियो ।

यसैबीच गृहमन्त्री बामदेव गौतमले संविधानसभा भवन नयाँ बानेश्वरमा एकीकृत माओवादी लगायत दलले देखाएको व्यवहारलाई जङ्गलीको संज्ञा दिनुभएको छ । संविधासभा बैठक अवरुद्ध भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले संविधानसभा भवनभित्र भएको ‘अराजक व्यवहार’ इतिहासकै महान भूल भएको र त्यसमा संलग्नहरू जङ्गली भएको बताउनुभयो ।

एकीकृत नेकपा(माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङलाई जबर्जस्ती प्रक्रियामा नलैजान आग्रह गरिए पनि उहाँले अस्वीकार गरेका कारण दुःखद घटना भएको प्रतिक्रिया दिनुभयो । हिजो दिनभरीको सहमतिको प्रयास विफल भएपछि मध्यरातमा संविधानसभा बैठकमा प्रक्रियाको लागि प्रश्नावली निर्माण समिति गठनको प्रयास भएको हो ।