डिभिजन २ क्रिकेट अन्तर्गत नेदरल्याण्डलाइ २ विकेटले हराउदै नेपाल विजयी

काठमाडौं – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को आफ्नो दोश्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले नेदरल्याण्ड्सलाई २ विकेटले हरायो । जितका लागि पाएको १ सय ५९ रनको लक्ष्य नेपालले खेल सकिन ३ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउने शरद भेषावकर २४ रनमा तथा शक्ति गौचन २ रनमा नट आउट भए । विनोद भण्डारीले ३५, सोमपाल कामीले २४ तथा कप्तान पारस खड्काले १९, सुवास खकुरेलले १५ रन बनाए । सागर पुनले १३ तथा बसन्त रेग्मीले ६ रन बनाए । नरेश बुढाऐरले १ रन बनाए भने ज्ञानेन्द्र मल्लले खाता नै खोल्न सकेनन् ।
यसअघि नामिबियाको विन्डहकमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । नेपालका कप्तान पारख खड्का, सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २ विकेट हात पारे । करण केसीले विकेट हात नपारे पनि ७ ओभरमा ३ मेडन राख्दै १० रन मात्र दिए ।
प्रतियोगिताको पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएपछि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो । आइतबार नै भएका खेलमा क्यानडाले केन्यालाई ४६ रनले तथा नामिबियाले युगाण्डालाई ४ विकेटले हरायो । नेपालले अब मंगलबार क्यानडासँग खेल्ने छ ।