राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप, ५ घाइते

माघ ४,काठमाडौँ -संविधानका विवादित विषयलाई जनमतसंग्रहमा लैजानुपर्ने माग गर्दै संविधानसभा घेराउ गर्न गएका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा ५ जना राप्रपा नेपालका कार्यकर्ता घाईते भएका छन् । राप्रपा नेपालको युवा मोर्चाका नेता जयप्रकाश सिलवाल, नगेन्द्र देउजा, विनोद कपाली र विद्यार्थी संगठनका महासचिव उज्जल पोख्रेल घाईते भएको राप्रपा नेपालका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपा नेपालले अहिले संविधानसभा भवनको अगाडी विरोधको कार्यक्रम गरिरहेको छ । अहिलेको विधि र प्रकृयाबाट संविधान जारी हुन नसक्ने भन्दै जनमत संग्रहमा गएर विवादित विषय टुंगाउनका लागि दबाव दिन भन्दै राप्रपा नेपालले आजदेखि आन्दोलन सुरु गरेको हो ।