सर्लाही एमालेमा नेता माकुनेको वर्चस्व

माघ ४,सर्लाही-नेकपा एमाले सर्लाही जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा माधवकुमार नेपाल पक्षको बर्चस्व देखिएको छ । आज सम्पन्न अधिवेशनमा अध्यक्ष प्रमोद यादवसहित ७५ सदस्य नेपाल पक्षका निर्वाचित भएका हुन् । यादवले ओली पक्षका राम अवतार यादवलाई ३२ मत अन्तरले हराएका छन् । ७८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा उत्तरबहादुर मगर, सचिवमा योगेन्द्र सिंह र सहसचिवमा अशोक यादव विजयी भएका छन् । उनीहरु पनि नेपाल पक्षका हुन् । नवनिर्वाचित अध्यक्ष यादवले लोकतान्त्रिक प्रक्रियामा जित हार स्वाभाविक भएको भन्दै पराजित साथीहरुको मतलाई पनि कदर गरी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।