अर्धनग्न बनेर युवासंघले माग्यो संविधान

माघ ३, काठमाडौं -निर्धारित मितिमै संविधान जारी गर्न दबाबस्वरुप आज युवा सङ्घ नेपालले अर्धनग्न र्याली निकालेको छ । सङ्घको कार्यालय बिजुलीबजारबाट निकालेको रैली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । शरीरमा आधामात्र कपडा लगाएका युवाले माघ ८ मै संविधान जारी गर, जनताको अभिमतको सम्मान गर, जातीय राज्य चाहिँदैन, देश टुक्र्याउन पाइँदैन, ६०१ खबरदारलगायत नारा लगाएका थिए । कोणसभामा सङ्घका महासचिव राजीव पहाडीले दलहरुले आफ्नो घोषणापत्रमा माघ ८ मा संविधान जारी गर्छु भनी गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै एनेकपा—माओवादी र मधेसी दलले जनताको जनमतलाई कुल्चिन नहुने बताए । जनताले दिएको जनमतलाई कदर गर्दै नेपाली काँग्रेस र नेकपा—एमालेले लोकतान्त्रिक र सर्वमान्य संविधान सके सहमतिबाट नसके प्रक्रियाबाट भए पनि समयमै जारी गर्नुपर्ने उहाँको जोड थियो । सङ्घले तोकिएको मितिमै संविधान जारी गर्न दबाबस्वरुप विभिन्न दबाबमूलक कार्यक्रमसमेत सार्वजनिक गरेको छ । संघले दिएको दबाब सभासदहरुले नटेरे जनताले एक दिन सभासदहरुलाई नग्याएने समेत संघले दाबी गरेको छ ।