आँखा पाक्ने रोग लाग्यो , अब के गर्ने ?

काठमाडौँ-पछिल्लो समय एक पछि अर्को गर्दै विभिन्न नयाँ रोगहरु रोगहरु देखिन थालेका छन् । अझ त्यसमा पनि ग्रामीण भेगमा भन्दा शहरी भेगमा । जुन रोगको कुनै सिजन नै छैन । प्राय गरी चिसो सुरु हुने बेला देखिने आँखा पाक्ने रोगका कारण पनि मानिसहरु समस्यामा पर्ने गरेका छन् जुन सरुवा रोग पनि हो । जसका कारण मानिसहरुले अहिले हरेक घर, बजार या कार्यालयहरुमा चश्मा लागएको देख्न सक्छौ, मानिसहरुको राता–राता आँखामा कालो चस्मा । कालो चस्मा लगाउनेको त अहिले संख्यामा वृद्धि नै भैरहेको छ । उनीहरुले त्यो चस्मा राम्रो देखिन या फेसनका कारण लगाएका होइनन् । लगाएका हुन् आँखा पाक्ने रोगका कारण । खासमा आँखा पाक्ने रोग तीन कारणबाट लाग्ने गर्दछ ।

१. ब्याक्टेरियाको संक्रमणबाट
२. भाइरसको संक्रमणबाट
३. पित्त अर्थात् एलर्जीको कारणबाट 
तर हाल यस क्षेत्रमा देखिएको आँखा पाक्ने रोग भने बढी एडिनो भाईरसका कारण फैलिरहेको चिकित्सक पोलिना दाहाल बताउनु हुन्छ । यही आँखा पाक्ने रोगका विरामी मात्रै एक दिनको अवधिमा करिब ६० प्रतिशत अर्थात् ३ सय जना आउने गरेको भरतपुर आँखा अस्पतालका प्रबन्ध निर्देशक तुल्सी प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
ब्याक्टेरिया र भाइरसको संक्रमणबाट यो रोग सर्ने गरेपनि यसमा सरसफाईले पनि उत्तिकै भूमिका खेल्ने गर्छ ।
ब्याक्टेरियाको संक्रमणबाट आँखा पाक्दा निक्न लक्षणहरु देखा पर्दछन् –
१. आँखामा भुँस वा धुलो परे जस्तो गरेर बिजाई राख्ने 
२. आँखा रातो भई अलिअलि सेतो वा पहेलो चिप्रा वा कचेरा लाग्ने
३. एउटा आँखामा सुरु भई चाँडै नै दोस्रो आँखामा पनि सर्ने
४. बिहान उठ्दा चिप्रा वा कचेराले आँखा टालिने
५. आँखाका ढकनीहरु सुन्निने
६. आँखा अलिअलि चिलाउने आदि लक्षणहरु देखा पर्दछन् । 
ब्याक्टेरियाको संक्रमणबाट सुरु भएको आँखा पाक्ने रोग ३ देखि ४ दिनमा चरम अवस्थामा पुग्ने र त्यसपछि विस्तारै घटेर निको हुदै जाने गर्दछ ।
यस्तै, भाईरसको संक्रमणबाट सर्ने आँखा पाक्ने रोग खासगरी अस्वस्थ्यकर वातावरणमा हुने रहन–सहन गर्ने समुदायमा बढी मात्रामा लाग्ने गर्दछ । साथै एक जनामा यो रोग देखिए सावधानी नअपनाएको खण्डमा एकबाट अर्कोमा सर्दै गएर ब्यापक रुप लिने भन्दै सचेत हुन खड्का सबैलाई आग्रह गर्नु हुन्छ ।
भाइरसबाट आँखा पाक्ने रोग लाग्दा एक्कासी आँखा रातो हुने, सुरुमा आँशु आउने र बिझाउने गर्दछ साथै केही समय पछि गएर आँखाको भागमा रक्तश्रावका धब्बाहरु देखा पनि पर्न सक्दछन् ।
तर केटाकेटीहरुमा भाईरसको संक्रमणबाट आँखा पाक्दा कान वरिपरिका लिम्फ ग्रन्थीहरु सुन्निने र ज्वरो समेत आउने गरेका अर्का चिकित्सक पोलिना दाहाल बताउनु हुन्छ । भाईरसबाट सर्ने यो आँखा पाक्ने रोग भने करिब २ हप्ता सम्म निको भएर जाने गर्दछ ।
यसैगरी, पित्त अर्थात् एलर्जी गर्दा पनि आँखा पाक्ने रोग लाग्ने गर्दछ । जुन प्राय गर्मी महिनामा बढी लाग्ने र त्यसमा पनि कम उमेरका पुरुष बच्चाहरुलाई बढी मात्रा लाग्ने गरेको पाइएको भरतपुर अस्पतालका प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिनुभयो ।
यो सरुवा रोग भएको कारणले गर्दा पनि सर्तकता, सावधानी नअपनाएको खण्डमा एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्ने गरेको पाइएको छ । त्यसैले सावधानी अपनाउनु निकै आवश्यक छ ।
यदी समयमा नै आँखाको उपचार गराउनु भएन र लापरवाही गर्नु भयो भने याद राख्नु होस् तपाईको अमूल्य संसार देखाउने आँखाको नानीमा घाउ हुने, फुला पलाउने साथै भविष्यमा अन्धो नै हुन सक्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् । त्यसैले धमिलो देख्ने र रातो भई निकै दुख्ने भएमा तुरुन्त नजिकको आँखा उपचार संस्थामा गई उपचार गराउन पनि चिकित्सकहरु सल्लाह दिन्छन् ।
यो र यस्ता रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा मात्र नभई विरामीबाट डाक्टर अनि डाक्टरबाट विरामीलाई समेत सर्ने गरेको स्वयम् यस रोगबाट पीडित चिकित्सक दाहाल बताउनु हुन्छ । आँखा पाकेको अवस्थामा चिकित्सकको सल्लाह नलिईकन आफुखुशी जडीबुटी या औषधी हाल्न हुँदैन । यस्तो गर्नेहरुले दृष्टि गुमाउनु परेको तथ्यांकले देखाएको छ ।
ब्याक्टेरिया र भाइरसको संक्रमण खासगरी व्यक्तिगत र वातावरणीय सरसफाईको कमीका कारण हुने र झिंगा, फोहोर हातको औला, साझा तौलिया, लुगा फाटो आदिको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।
यस्ता संक्रमणहरुबाट बच्न दिनहुँ २–३ पटक आँखा सफा पानीले धुनुपर्ने चिकित्सकहरुले सल्लाह दिने गरेको भएपनि आँखामा पानी छ्याप–छ्याप गरेर हुँदा झन् आँखा सुन्निने, नानीमा घाउ हुने भएकाले कपासमा पानी भिजाएर मात्र आँखाको वरिपरि सफा गर्न दाहाल सल्लाह दिनुहुन्छ । यसका साथै व्यक्तिगत र वातावरणीय सफाईमा ध्यान दिने, आँखा र मुख पुछ्न छुट्टा छुट्टै रुमाल वा तौलियाको प्रयोग गर्ने, आँखा पाकेको व्यक्तिहरुसंग सके सम्म लसपस नगर्ने ।
साथै अरुलाई सर्नबाट बचाउन आँखा पाकेको व्यक्तिहरुले विद्यालय वा कार्यालय नगई घरमै छुट्टै कोठामा आराम गरी आँखामा हाल्ने एण्टीबायोटिक झोल वा मलम औषधी दिनमा ४ पटक प्रयोग गर्नुपर्ने चिकित्सक खड्का बताउनु हुन्छ ।
यो रोग अन्य उमेर समूहलाई भन्दा पनि बच्चाहरुमा बढी देखा पर्ने गरेको पराजुलीले जानकारी दिनुभयो ।
रोग सानो–ठुलो, खतरा–सामान्य हुँदैन । सानो सामान्य रोगलाई पनि तपाईले स्याहार गर्नु भएन, समयमै उपचार गराउनु भएन, लापरबाही गर्नु भयो भने भविष्यमा यसले ठुलो र खतरनाक रुप लिन सक्छ ।
कुनै पनि रोग लाग्दा होसियारी अपनाऔ । सक्छौ भने रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिउ । यही नै ठुलो बुद्धिमत हुनेछ ।