बेल्जियममा संदिग्ध आतंकवादीविरुद्धको प्रहरी कारबाहीमा दुईजनाको मृत्यु

माघ २,काठमाडौं- युरोपेली मुलुक बेल्जियममा संदिग्ध आतंकवादीविरुद्धको प्रहरी कारबाहीमा दुईजनाको मृत्यु भएको छ ।

सिरियामा ‘जिहादी युद्ध’मा सहभागी भइ बेल्जियम फर्किएका केही लडाकूले बेल्जियममा ठूला आतंकवादी आक्रणको योजना बनाएको आरोपमा प्रहरीले सुरक्षा गस्ती बढाएको थियो । यहीक्रममा संदिग्ध जिहादीहरुले सशस्त्र प्रहरी बलमाथि आक्रमण सुरु गरेपछि जवाफी कारबाहीमा दुई जना मारिएका हुन् । अर्का एकजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

पूर्वी सहर भरभायर्समा गरिएको प्रतिआतंकवादी कारबाहीमा प्रहरी तथा सर्वसाधारणतर्फ भने कुनैपनि क्षति भएको छैन ।

बेल्जियममा हालैका दिनमा संदिग्ध आतंकवादीहरुको उपस्थिति बढेको भन्दै सुरक्षा चुनौतीको स्तर बढाइएको थियो । जिहादीहरुले भरभायर्स सहरको एउटा प्रहरीचौकी ध्वस्त बनाउने योजना बनाइरहेको बेल्जियम सरकारको दाबी छ । (एजेन्सी)