एथ्लेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्धन्द्धी रियाल मड्रिडलाई पराजित

माघ २,काठमाडौं- स्पेनिस किंग्स कप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेलमा एथ्लेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्धन्द्धी रियाल मड्रिडलाई पराजित गरेको छ ।विहीबार राति भएको दोस्रो लेगको खेलमा रियाल मड्रिडलाई २–२ गोलको बराबरीमा रोक्दै एथ्लेटिकोले समग्रमा ४–२ को जित हासिल गरेको हो । यसअघि पहिलो लेगको खेलमा एथ्लेटिको मड्रिड २–० ले विजयी भएको थियो ।

विहीबार राति एथ्लेटिकोका लागि फर्नान्डो टोरेसले दुई गोल गरे । इंग्लिस क्लबहरु लिभरपुल र चेल्सीमा केही समय बिताएपछि यसै महिना आफ्नो पुरानो क्लब एथ्लेटिको फर्किएका टोरेसले दुबै हाफको पहिलो मिनेटमा गोल गरेका थिए ।

रियाल मड्रिडका लागि भने सर्जियो रामोस र क्रिश्चियानो रोनाल्डोले एक–एक गोल गरेका थिए ।

एथ्लेटिको मड्रिडले अब किंग्स कप फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाको सामना गर्नेछ । विहीबार राति भएको खेलमा एल्चेलाई ४–० ले हराँउदै बार्सिलोना अन्तिम आठमा पुगेको हो ।

किंग्स कपअन्तर्गतका अन्य खेलहरुमा विजयी हुँदै भिल्लारियाल, एथ्लेटिक बिल्बाओ, गेटाफे र सेभिया पनि अन्तिम आठमा पुगिसकेका छन् ।