सत्तापक्ष र प्रतिपक्ष आ आफ्नै रणनीतिमा

माघ २, काठमाडौं- संविधानका अन्र्तबस्तुमा प्रमुख सत्तासिन दल र विपक्षी दल आ आफ्ना रणनीति बनाउन जुटेका छन् । संविधानसभाको बैठक अधि सत्तासिन दुई दल कांग्रेस र एमालेले छलफल गर्ने भएका छन् । प्रक्रियामा जानेगरि एकैपटक मस्यौदा पेश गर्ने विषयमा थप छलफल हुन लागेको दलहरुले बताएका छन् । एमाले उपाध्यक्ष भीम रावलले यसअघि बनेको साझा धारणालाई थप संसोधन र मतदान प्रक्रियाको बाटोका विषयमा छलफल गर्ने बताउनुभयो ।

बैठक बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । सत्तापक्ष दलले संवैधानिक राजनीतिक सम्वाद समितिको प्रतिवेदनलाई छलफल सुरु गराउने र यसअघिको नौ बुँदे अवधारणा पारित गराउने दुई दलको तयारी छ । प्रश्नावली समिति बनाउन ढिलो हुने भन्दै एकैपटक मतदानको प्रक्रियामा जाने गरि छलफल हुँदैछ । विपक्षी मोर्चाले पनि प्रक्रिया सुरु गरे प्रतिवादको तयारीका लागि छलफल गर्दैछन् । संविधानसभाको बैठक अवरुद्धदेखि प्रक्रियाको छलफल नै अवरुद्धसम्मका कार्यक्रमका विषयमा छलफल हुने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । संविधान जारी गर्ने भनिएको दिन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलको सयुक्त छलफल भने हुन छाडेको छ ।