संविधान निर्माणमा सहमतिको प्रयास जारी छ— मन्त्री निधी

माघ १, काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले सरकार सहमतिमा संविधान जारी गर्न अझै पनि लचक भएर प्रस्तुत हुन तयार रहेको बताउनु भएको छ । चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको प्रथम नगर परिषद्ले पारित गरेको आ.ब. २०७२÷०७३ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले माघ ८ गतेभित्र सहमति मै संविधान जारी गर्न सरकार तयार रहेको बताउनु भएको हो । उहाँले भन्नुभयो—‘सरकार संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संबिधान बनाउन चाहन्छ, सहमतिमा संविधान जारी गर्न प्रदेश बिभाजन, संख्या, नामाकरण लगायतका बारेमा लचक भएर प्रस्तुत हुन सरकार अझै तयार छ अधिकतम लचकताका साथ एउटा बिन्दूमा सम्झौता होस र सहमतिमै संविधान जारी होस भन्ने सरकारको चाहना छ ।’ समय मै संविधान बनाउन प्रतिपक्षले अबरोध पुर्याएको बताउँदै उहाँले बन्द र आन्दोलनले संविधान निर्माण नरोकिने बताउनुभयो ।

सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै मन्त्री निधीले सहमति नभए प्रक्रियाबाटै संविधान जासी गर्ने बताउनुभयो । संविधान निर्माणमा अबरोध पुर्याउने दलहरुले नै एकवर्ष अघि सहमति नभए प्रंक्रियाबाटै भएपनि संविधान जारी गर्ने प्रतिबद्धता जनाएको टेप रेकर्ड र समाचार अझै पनि सुन्न र हेर्न सकिने बताउँदै उहाँले जनतालाई अब धोका दिन नपाईने बताउनु भएको भक्तपुरबाट हाम्रा सहकर्मी पुष्कर बुढाथोकीले जानकारी दिएका छन् ।