कांगे्रस संसदीय दल र एमाले स्थायी समितिको बैठक बस्दै

माघ १, काठमाडौं- संविधान जारी गर्ने दिन नजिकिंदा जाँदा दलहरु आज आ आफ्नै आन्तरिक छलफल व्यस्त हुने भएका छन् । हिजोदेखि नै सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुन छोडेको छ भने आज सत्तारुढ दुई दल पनि आ आफ्नै बैठकमा व्यस्त हुने भएका छन् । नेपाली कांगे्रस संसदीय दलको बैठक दिउँसो बस्ने भएको छ । भैरहवा जानुभएका प्रधानमन्त्री सुशिल कोइराला फर्किएपछि मध्यान्हपछि बैठक बस्ने एक सभासद्ले जानकारी दिए ।

यसैबीच नेकपा एमालेले बिहान १० बजेका लागि स्थायी समितिको बैठक बाोलाएको छ । सचिव प्रदिप ज्ञवालीका अनुसार संविधान निर्माणलगायत समसामयिक राजनीतिलगायत पार्टीको आन्तरिक कार्यविभाजनका विषयमा आज स्थायी समिति बैठकमा छलफल हुने छ । यसैबीच एमालेले धर्म निरपेक्षताको निर्णय फिर्ता लिने विषयमा परामर्श भनेर केही संचारमाध्यममा आएको खबर सत्य नभएको सचिव ज्ञवालीले बताउनुभयो । सीआईएनसँगको कुराकानीमा ज्ञवालीले धर्म निरपेक्षताको निर्णय फिर्ता नलिने र त्यस खालको छलफल पार्टीमा नभएको दाबी पनि गर्नुभयो । दुई दलको आ आफ्नो बैठक सकिएपछि सत्तारुढ दुई दलको पनि छलफल हुने भनिए पनि समय भने टुंगो लागि सकेको छैन ।